काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्राचार गरेको छ ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परमादेशअनुसार ६ महिनाभित्र पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो ।
शुक्रबार फैसला कार्यान्वयन निर्देशनालयको पत्र संघको सचिवालयका कर्मचारी अनिल ढुंगानाले बुझिसकेका छन् । प्राप्त निर्देशनालयको उक्त पत्रअनुसार गत मंसिर ४ गते एकताका लागि घले नेतृत्वको उच्चस्तरीय समितिको बैठक बस्दा कार्यालय बन्द गर्न पर्नुको कारण पनि माग गरिएको छ । यसबारेमा ७ दिनभित्र लिखित जानकारी गराइ अन्य आवश्यक कामकारबाही गर्न कुनै पनि प्रकारको अवरोध नगर्न पत्रमा उल्लेख गरिएको थियो ।
‘सर्वोच्च अदालतबाट मिति २०८०।१२।२१ मा भएको आदेशको कार्यान्वयनार्थ परराष्ट्र मन्त्रालयबाट समेत भएको निर्देशन र समन्वय अनुसार उच्च स्तरीय समितिका पदाधिकारीहरुलाई पहिलो बैठक बसेको ६ महिनाभित्र निर्वाचन सहितको महाधिवेशन गर्ने गराउने प्रयोजनार्थ सम्मानित सर्वोच्च अदालतको आदेशानुसार कार्यान्वयन गर्ने प्रयोजनको लागि सहजीकरण गर्नुपर्नेमा गैरआवासीय नेपाली संघको कार्यालय नै बन्द गरी सर्वोच्च अदालतको आदेशले तोकिए बमोजिमका क्रमका संयोजकहरूको उपस्थिति रहे भएको समयमा के कति आधार कारणले कार्यालय बन्द गरेको हो ? सोको जानकारी ७ (सात) दिनभित्र यस निर्देशनालयलाई दिई आवश्यक काम कारबाही गर्न कुनै पनि प्रकारको अवरोध सृजना नगर्न निर्देशानुसार अनुरोध गरिन्छ’, पत्रमा भनिएको छ ।