काठमाडौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका पूर्व निर्देशक बलराम ठाकुरसहित चार कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गाडी भाडामा लिएको भनेर नक्कली कागजात तयार पारी ३० लाख रुपैयाँ अनियमितता गरेको आरोपमा परिषदका पूर्वनिर्देशक ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्र कुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दामा उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । ‘परिषद्का पूर्व निर्देशक ठाकुरसहितका कर्मचारीमाथि जिल्ला प्रहरी कार्यालयमा ठगी गरेको भन्दै उजुरी दर्ता भएका थियो उनले भने, ‘अहिले अदालतबाट पक्राउ गर्न आदेशसमेत भइसकेको छ तर उनीहरू पक्राउ भने परेका छैनन् र चाँडै पक्राउ गर्छौ।’
के थियो घटना ?
विभिन्न मितिको हुँदै नभएको गाडी भाडावापत २०७६ असार ३१ गते कीर्ते सम्झौता पत्र र कार्यदेश तयार गरि महोत्तरी जिल्ला एकडारा गाउँपालिका बस्ने मुकेश यादवको नाममा ३० लाख रुपैयाँ निकालियो । रकम निकालिएको जानकारी यादवले पछि मात्रै थाहा पाए । आफ्नो नाममा कीर्ते गरेर रकम निकालेको थाहा पाएपछि यादव प्रहरीसम्म पुगेका हुन् ।
आफ्नो दस्तखत समेत कीर्ते गरि भएको भ्रष्टाचार प्रकरणमा यादवले प्रमाणसहित प्रहरीमा जाहेरी दिएका थिए । यादवले दिएको जाहेरीअनु्सार उनले आफ्नो नामको निवेदनसमेत परिषद्का कर्मचारीले बनाएको बताएका छन् । यादवका अनुसार आफूले रकम बुझेको गोश्वारा भौचर, आफ्नो नाममा बनाएको चेक नं. ३६४२४९४१, पेश्की फर्छ्यौटको लागि दिएको निवेदन पत्रसमेतमा कर्मचारीहरूले दस्तखत किर्ते गरी हिनामिना गरिएको हो ।
तत्कालीन समयमा आफ्नो नाममा हुँदै नभएको महिन्द्रा कम्पनीको डिजेलबाट चल्ने स्कार्पियो चार चक्के गाडी सिलिन्डर ४ ः २१७९ हर्ष पावर सी.सी.एम.ए आइ.टी.ए.जे एक्स ९२ एच २४१२३ इन्जिन नं. क्युएम्यु१४एच२४१२३ सिट क्षमता–८ प्रयोग गरेको कागजपत्र परिषद्का पदाधिकारी र कर्मचारीले बनाएर रकम हिनामिना गरेको ब्यहोरा यादवले दिएको जाहेरीमा उल्लेख छ ।
त्यस्तै निजी प्रयोगमा रहेको बा. १६ च. ६४७ नं. प्राइभेट जीप आफ्नो नाममा नरहेको अवस्थामा पनि सरकारी छाप, दस्तखत, किर्ते गरी सहमति भएको देखाई विभिन्न कागजात तयार गरेर २०७६ असोज ७ गतेको गोश्वारा भौचार नं. २६ बाट मर्मतको लागि पेश्की १० लाख रुपैयाँ प्राप्त गरेको देखाएर हिनामिना गरिएको विवरण यादवले जाहेरीमा समावेश गरेका छन् ।
१० लाख प्राप्त गरेको देखाएपछि फेरि अर्को दस्तखत समेत कीर्ते गरी बाँकी रकमको एउटा निवेदनको मिति केरमेट गरिएको २०७७ असार ३० गतेको को दर्ता नं. समेत प्रष्ट नबुझिएको निवेदन समेतमा बाँकी रकम दिने भनि तत्कालीन कार्यकारी निर्देशक निर्देशकले आर्थिक प्रशासन शाखाको नाममा तोक आदेश गरिएको व्यहोरा जाहेरीमा उल्लेख छ ।
कार्यकारी निर्देशक ठाकुरले आफ्नो दस्तखत समेत गरी निवेदनको पुछारमा निवेदक मुकेश यादव जनकपुर लेखेर निवेदन पत्रमा उल्लेखित मिति समेत केरमेट गरी त्यसको मुनि एकडारा–८ उल्लेख गरी आफ्नो कीर्ते दस्तखत गराई सरकारी रकम निकासा गरी गरेको भेटिएको यादवले उल्लेख गरेका छन् ।
हिनामिनाका क्रममा यादवको नामबाट किर्ते दस्तखत गरी गराई ठाकु्रले एक वर्षको भाडा दैनिक ५ हजारका दरले लिएको, डिजेल, मोबिल, चालकको खर्च समेत बुझ्ने गरेको जिकिर यादवले जाहेरीमा गरेका छन् । आफ्नो नाममा सरकारी छाप र दस्तखत कीर्ते गरेर सरकारी रकम मासी विपक्षीहरूले थप रकम बुझी लाभ प्राप्त गरेकाले यस हिनामिना प्रकरणमा उनीहरूमाथि कारबाही हुनुपर्ने यादवले माग गरेका छन् ।
यता वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा केही वर्षयता कार्यकारी निर्देशक र कर्मचारीहरूबीचको मनमुनाटवले कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह र कर्मचारीहरूको मनमुनाटवले कार्यालयको कामकाजमै समस्या आएको हो ।