देश

यस्तो छ उपत्यकासहित देशभरको सडकको अवस्था

काठमाडौँ । प्रहरीले उपत्यकाकासहित देशभरका सडकको अवस्थाबारे ब्रिफिङ गरेको छ ।
प्रहरीले सोमबार दिउँसोसम्मको सडक यातायातको अवस्थाबारे अपडेट गराउँदै काठमाडौँ उपत्यका स्थित गौशाला, ग्वार्को, इमाडोल, कुपण्डोल, ज्वागल, थापाथली, माइतीघर, बबरमहल, नागस्थान, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, केशरमहल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेको जनाएको छ । भिडको अवस्था सहज बनाउने प्रयास जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँको माइतीघर चोकमा मानिसहरू भेला भएकाले माइतीघरबाट थापाथलीतर्फ सर्भिस लेन भएर जाने सवारी साधनलाई मुख्य लेनबाट चलाइएको छ । ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले सवारी आवागमन बन्द भएको छ भने धादिङको झ्याप्लेखोलामा खसेको पहिरो केही पन्छ्याएसँगै नागढुङ्गा नाका हुँदै काठमाडौँ उपत्यका भित्रिने सवारी साधन चलिरहेका छन् । तर, बाहिरिने सवारी साधनलाई भने अझै रोक लगाइएको छ ।

पहिरोकै कारण सिस्नेरी, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत प्रभावित भएको ट्राफिक कन्ट्रोल रुम जनाएको छ । यस्तै भने काठमाडौँ–सिन्धुली–बर्दिबास र धुलिखेल–खावा चल्ने सवारी साधन पनि चल्न सकेको छैन । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ र रोशी ११ मा बाढी तथा पहिरोले सडक बगाउँदा तथा सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा झरेको पहिरोका कारण विपि राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै रसुवा जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ जयराम घाटमा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ ।

रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउदा खुर्कोट–मन्थली चल्ने सवारी साधनको आवागमन रोकिएको छ । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँलिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सडकको अवस्थाबारे थप जानकारी हेर्नुहोस् :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *