देश

कृषिको आधुनिकीकरणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको बताएका छन् ।

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी, कृषिमा प्रत्यक्ष वित्तीय लगानी परियोजनाको आज यहाँ शुभारम्भ गर्दै उनले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेकाले यसको आधुनिकीकरण जरूरी रहेको बताए ।

कुल गार्हस्थ उत्पादन (जिडिपी) मा लगभग २४ दलशमलव पाँच प्रतिशत योगदान कृषि क्षेत्रले पु¥याएको चर्चा गर्दै मन्त्री अधिकारीले भने “कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्री (बीउ, मल, सिँचाइ, यन्त्र) मा सीमित पहुँच र अव्यवस्थित बजारले बाधा पुर्‍याइरहेको छ ।”

किसान र उद्यमीले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको गुनासा आइरहेकाले त्यसलाई सहज, सरल र छिटोछरितो बनाउन सरकार लागिपरेको उनले बताए ।

मन्त्री अधिकारीले जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेकाले विश्व नै यस क्षेत्रमा संवेदनशील हुनुपर्ने बेला आएको उल्लेख गरे । “यस्तो अवस्थामा कृषि क्षेत्रलाई व्यावसायिकीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारको समन्वयात्मक प्रयास आवश्यक छ । विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नवप्रवद्र्धनशील विचार, अनुभव र स्रोतका लागि सरकार हातेमालो गरेर अघि बढ्न तयार छ”, उनले भने ।

सरकारले कृषिमा लगानी दशक घोषणा गरेर काम गरिरहेकाल लगानी बढाउन आवश्यक र युवा पुस्तालाई आकर्षित गर्न आवश्यक कानुन संशोधनको तयारी भइरहेको पनि मन्त्री अधिकारीले जानकारी दिए । उनले ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजीले कृषिमा आधारित आर्थिक विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषिलाई मजबुत बनाउने, खाद्य र पोषण सुरक्षामा सुधार गर्ने, गरिबी घटाउने र निजी क्षेत्रको लगानी बढाउने नीति बनाउन मद्दत पुग्ने विश्वस व्यक्त गरे । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसन, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) नेपालका मिसन निर्देशक मिस क्याटी डोनोहोलगायतको सहभागिता थियो ।

यस्तै कृषि मन्त्री अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा दुई पक्षीय हितका विषयमा छलफल भएको हो ।

मन्त्री अधिकारीले नेपाल–भारत सम्बन्धहरू मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तहरूमा आधारित रहेका स्मरण गरे । कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागिपरेको जनाउँदै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोगको अपेक्षा राखेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूलाई भारतीय बजारमा सहज पहुँच पुर्याउन सहजीकरणका लागि उनले आग्रह गरे । ‘यसले दुई देशबिचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेमा मन्त्री अधिकारीले विश्वास लिएका छन् ।

सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुवै देशबिचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको औँल्याउँदै मन्त्री अधिकारीले खोरेँत साथै विभिन्न पक्षी फ्लुजस्ता रोगहरूको रोकथाम तथा कृषि उपजको आयात निर्यातको लागि सीमा क्षेत्रमा थप क्वारेनटाइन व्यवस्थाहरू मजबुत बनाउन एकीकृत उपाय अपनाउन पर्नेमा जोड दिएका छन् ।

नेपालमा रासायनिक मलको सहज आपूर्तिका लागि भारत सरकारबाट आगामी दिनमा पनि निरन्तर सहयोगका मन्त्री अधिकारीले आग्रह समेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *