देश

दुर्गा प्रसाईंलाई लगियो अदालत

काठमाडौँ । मेडिकल ब्यवसायी तथा धर्म संस्कृति र नागरिक बचाउका अभियान्ता दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेर अदालत लगेको छ । आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेर साइबर ब्युरो हुँदै प्रसाईंलाई अदालत लगिएको हो । प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी प्रसाईंलाई पक्राउ नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

समाजमा अशान्ति भड्काउने अभिव्यक्तिहरुले विवादित बन्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू निकट युट्युबहरुलाई प्रयोग गर्दै विभिन्न व्यक्तिहरुको चरित्रहत्या गर्दै आएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा जाहेरी दिएकी थिइन् । आफ्नो चरित्रहत्या गर्ने गरी एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् ।

संग्रौलाले सामाजिक सञ्जालबाट आफ्नो न्यायका लागि निरन्तर आवाज उठाएपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो । गत असोज २ गते प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेलगतै प्रसाँईले आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर प्रसाईंले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेको भएर जेल हाल्न खोजिएको दाबी गरेका थिए ।

केही समयअघि कान्तिपुर दैनिकको मास्टर हेड दुरुपयोग गर्दै एउटा फेक न्यूज भाइरल बनाइएको थियो । ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फोटोसप गरिएको सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए । पछि फ्याक्ट चेकमा कान्तिपुरले यस्तो शीर्षकमा समाचार कहिल्यै नछापेको प्रमाणित गरिसकेको छ ।

त्यही फेक न्यूजलाई आधार बनाएर दुर्गा प्रसाईंले युट्युब च्यानललाई अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्तामा उनले ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए । प्रसाईंले ज्वालालाई बदनाम गर्न खोज्नुको कारण हो, उनले सामाजिक सञ्जालमा राखेको एउटा भिडिओ । त्यो भिडिओ दुर्गा प्रसाईंले दुबईमा मृत्युदण्डबाट जोगाएर नेपाल फर्काएको भनिएका युवक पहलमान थापाका आफन्तको पत्रकार सम्मेलनको थियो । ती युवकले पत्रकार सम्मेलन गर्दै आफ्नो जीवन रक्षामा दुर्गाले एक रुपैयाँ पनि सहयोग नगरेको बताएका थिए ।

भिडिओ सेयर गर्दै ज्वालाले लेखेकी थिइन्, ‘दुर्गा प्रसाईं दाइले आफूले उद्धार गरेको भनेर फेसबुकतिर बधाई खाँदै गरेको देखेकी थिएँ, तर उद्धारकर्ता अर्कै रहेछन् । बिचरा जो वास्तविक उद्धारकर्ता छन्, तिनलाई दुर्गा दाइको झूटो अभिव्यक्तिले कति असर पुगेको रहेछ ! समाज सेवाको नाममा भाइरल हुन जे पनि नगर न हो साथीहरु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *