काठमाडौं । प्रदर्शनले उग्ररुप लिएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ लागेकी छन् ।ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार शेख हसिना भारत प्रस्थान गरेकी छन् ।
शेख हसिनाकी बहिनी पनि उनको साथमा रहेको बताइएको छ । शेख हसिनाका छोराले देशको सुरक्षा बललाई सम्भावित विद्रोहको प्रयासलाई सफल हुन नदिन आग्रह गरेका छन् । यसैबीच राजधानी ढाकासहित देशभर सेना परिचालन गरिएको छ ।
कर्फ्यू लागू छ। बंगलादेश हिंसाको आगोमा जलिरहेको छ । यसैबीच, प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको खबर आए पनि यसको पुष्टि भने भइसकेको छैन ।बंगलादेशमा लगातार बिग्रँदै गएको अवस्थाका बीच सेना प्रमुख जनरल वकार–उज–जमानले केही समयपछि देशलाई सम्बोधन गर्न सक्नेछन् ।
हिजो भएको सरकार विरोधी प्रदर्शनमा एकै दिनमा ९० जनाको मृत्यु भएको छ ।
गत महिना निजामती सेवाको जागिरमा कोटा खारेज गर्नुपर्ने माग राखेर सुरु भएको विद्यार्थी आन्दोलन अहिले सरकार विरोधी आन्दोलनमा परिणत भएको छ ।
विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिनुपर्ने माग गर्दै सविनय अवज्ञाको अभियान घोषणा गरेपछि आन्दोलन चर्किएको हो ।




