देश

कञ्चनपुरमा वर्षा मापन सुरु भए यताकै सर्वाधिक वर्षा

कञ्चनपुर । नेपालमा वर्षा मापन सुरु भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यसरी बढी वर्षा हुनुको कारणबारे जल तथा मौसम विज्ञान विभागले थप अनुसन्धान अध्ययन गर्ने भएको छ ।

गत आइतबार र सोमबार कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा २००३ सालयताकै बढी वर्षा भएको हो ।

अस्ति सोमबार विहान पौने ९ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दोधारामा ६ सय २४ मिलिमिटर, हनुमान नगरमा ५ सय ७३ दशमलव ६ मिलिमिटर तथा सुन्दरपुरमा ५ सय ५५ दशमलव ८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यस वर्ष गएको जेठ २८ गतेदेखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो ।

वायुमण्डलीय तथ्याङ्क, भू-उपग्रहबाट लिइएको तस्वीर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको विश्लेषणबाट दुई दिन मनसुन न्यूनचापीय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिमको दक्षिण भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको विभागले जनाएको छ ।

यस्तै, पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रहेको, अरब सागर तथा बंगालको खाडीबाट आउने जलवायुयुक्त हावा कञ्चनपुरमा मिसिएर भारी वर्षा भएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि २०७४ सालको साउन २९ गते मकवानपुरको हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५ सय १६ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको थियो । विभागले यस मौसमी घटनाको थप अध्ययन गरी सार्वजनिक गर्ने पनि जनाएको छ ।