काठमाडौं । मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा भएको आतंककारी आक्रमणमा २० जना भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यहाँका बासिन्दा र स्थानीय अधिकारीहरूले बुधबार यसको पुष्टि गरेका छन् ।
‘रातिको समयमा कातिबा मासिनाका दर्जनौँ आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए । अस्थायी टोलमा डोजो शिकारीहरू (परम्परागत शिकारी) सहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता छन्’, डुकुम्बोमा रहेका एक अधिकारीले भने ।
प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीले गाउँलाई घेरेका थिए । ‘विवाह उत्सवका क्रममा आक्रमण भयो, आक्रमणमा दुलहाको पनि ज्यान गयो’, अर्का एक स्थानीय अधिकारी भने । सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय संकटको बीचमा आतंकवादी हमलाहरूबाट ग्रस्त छ ।




