मुख्य समाचार

सरकार गठनबारे अन्य दलसँग छलफल भइरहेको छ: प्रवक्ता महत

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ठूलो पार्टीको हैसियतले कांग्रेस सत्तामा जानुपर्छ भन्ने आवाज उठिरहेको बताएका छन्।

आज सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महतले सो कुरा बताएका हुन्।त्यस्तै आजको बैठकमा कांग्रेस सत्तामा जाने विषयमा छलफल नभएको उनले बताए।

‘कांग्रेस सत्तामा जानुपर्छ र नेतृत्व गर्नुपर्छ भन्ने अनौठो कुरा भएन। नेतृत्व तहले विभिन्न दलहरुसँग छलफल गरिरहेको छ। राष्ट्रिय मुद्दामा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘हाम्रो लागि मुद्दा ठूलो कुरा हो। सत्ता ठूलो होइन। मुद्दाहरुमा एकरुपता आयो, दीर्घकालीन रुपमा अगाडि जाने परिस्थिति बन्यो भने यो विषयले प्राथमिकता पाउँछ।’

शनिबार दिउँसो एमाले अध्यक्ष केही शर्मा ओलीसँग देउवाको भेटबारे आजको बैठकमा देउवाले ‘ब्रिफिङ’ गरेका थिए। त्यसबारे थप कुरा नभएको र अहिले नै सत्ता परिवर्तनको कुरा बोल्नु उचित नभएको उनले बताए।

‘यो विषयमा अहिले नै बोल्नु परिपक्व भइसकेको छैन। बिना मुद्दा सरकारमा जान कांग्रेसले प्राथमिकता राख्दैन। दीर्घकालीन रुपमा सरकार चल्ने परिणाममुखी काम गर्न सक्नुपर्ने, संविधान र निर्वाचन पद्धतिले ल्याएको समस्यालाई कम गरेर देशलाई स्थिरता र समृद्धिको लागि एकै ठाउँमा हुन सकिन्छ,’ उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *