विश्व

भारतीय प्रधानमन्त्री मोदीले संसद्को प्रथम बैठकको पहिलो सत्रबाट तेस्रो कार्यकालका योजना सार्वजनिक गर्दै

नयाँदिल्ली। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडिए० सरकारको नेतृत्व गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्को पहिलो बैठकको पहिलो सत्रमा प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको योजना प्रस्तुत गर्ने भएको छ ।

एक दशकपछि पहिलो पटक गठबन्धन सरकारमा सामेल हुन बाध्य भारतीय जनता पार्टी (भाजपा) सरकारले अघिल्ला कार्यक्रमलाई कसरी प्रस्तुत गर्छ भनेर विशेष चासोका साथ हेरिएको छ । भाजपाले एकल सरकार बनाएका समय घोषणा गरेका कतिपय कार्यक्रमहरू यो सरकारले त्याग्छ वा निरन्तरता दिन्छ यसमा सबैको चासो रहेको छ ।

जुलाई ३ सम्म चल्ने पहिलो सत्रमा मोदीको तेस्रो कार्यकालको योजना र सन् २०१४ देखि रिक्त रहेको विपक्षी दलको नेताको रूपमा राहुल गान्धीको सम्भावित औपचारिक नियुक्तिको पूर्वावलोकन हुनेछ ।

विश्लेषकहरूले ७३ वर्षीय मोदीले आफ्ना हिन्दू राष्ट्रवादी एजेन्डालाई संयमित गर्दै आफ्ना गठबन्धन साझेदारलाई आश्वस्त पार्ने, पूर्वाधार, सामाजिक कल्याण र आर्थिक सुधारमा बढी ध्यान केन्द्रित गर्ने अपेक्षा गरेका छन् ।

संसदीय मामिलामन्त्री किरेन रिजिजुले सोमबार अधिवेशन ‘शान्तिपूर्ण र उपलब्धिमुलक’ हुने बताएपनि भारतीय सञ्चारमाध्यमले भने अझ बलियो प्रतिपक्षसँग जीवन्त बहस हुने अपेक्षा गरेको बताएका छन् ।

पहिलो दुई दिन नवनिर्वाचित सांसदले सपथ लिएसँगै संसद्को अधिवेशन सुरु हुनेछ ।

प्रधानमन्त्रीको रूपमा मोदीको दशकले उनलाई देशको बहुसङ्ख्यक हिन्दू धर्मको कट्टर समर्थकको रूपमा छवि विकास गरेको छ । यसले देशभित्रको मुस्लिम समुदायसहित अल्पसङ्ख्यकहरूलाई चिन्तित बनाएको छ ।

भाजपाले यस वर्षको चुनावमा २४० सिट जितेको छ र यो तल्लो सदनमा बहुमतका लागि चाहिने सङ्ख्याभन्दा ३२ सिट कम हो । यसले भाजपालाई शासन गर्न साना पार्टीहरूको समूहमा निर्भर बनाएको छ ।

मोदीले यो सरकारमा पनि प्रमुख पदहरू यथावत राखेका छन् र क्याबिनेटमा भाजपाको प्रभुत्व कायमै छ ।

प्रधानमन्त्री मोदीका विश्वासपात्र राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, निर्मला सीतारमण र एस जयशंकर क्रमशः रक्षा, आन्तरिक, यातायात, वित्त र विदेशमन्त्री बनेका छन् ।

उनको ७१ सदस्यीय सरकारमध्ये ११ पद गठबन्धनका सहयोगीलाई दिइएको छ भने मन्त्रीमण्डलका महत्वपूर्ण रूपमा हेरिने शीर्ष ३० पद पाँच पद गठबन्धन दललाई बाँडिएको छ ।

तल्लो सदनको सञ्चालनको रेखदेख गर्ने शक्तिशाली पद सभामुखको निर्वाचनलाई पनि धेरैले हेरिरहेका छन् । सांसदहरूले बुधबार सभामुखका लागि मतदान गर्ने छन् ।

गठबन्धनका सहयोगीले यो पदमा आँखा लगाएका पाइन्छ तर केहीले खुलेरै प्रधानमन्त्री मोदीले यसमा पनि भाजपाबाट उम्मेदवार खडा गर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *