मुख्य समाचार

तत्काल एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए ।

उनले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । उनले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताए । उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको बताए ।

उनले भने, ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नु हुँदोरहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नु हुँदैन । हिजोको कुरा पनि बिर्सौं ठीक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *