काठमाडौं। समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले समसामयीक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चाको आगामी कार्ययोजना बारे छलफल भएको हो ।
मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । विप्लवले हाल मोर्चाको नेतृत्व गरिरहेका छन् ।
मोर्चाको संयोजकको जिम्मेवारी लिएपछि उनले मोर्चामा प्रमुख कम्युनिष्ट घटक नेकपा एमालेलाई पनि समेट्न प्रयास गरिरहेका छन् । एमालेलाई मोर्चामा ल्याउनकै लागि विप्लवले बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
एमाले अध्यक्ष अोलीसँगको भेटमा विप्लवले मोर्चामा आउन आग्रह गरेको र ओलीले पनि त्यसलाई सकारात्मक रुपमा लिएको बताईएको छ ।




