काठमाडौं । उज्वेकिस्तानको सर्वोच्च अदालतले भारतीय कफ सिरप पिउँदा ६८ बालबालिकाको मृत्यु भएको मुद्दामा २१ जनालाई सजाय सुनाएको छ ।
एनडीटीभीको रिपोर्ट अनुसार सबैलाई २० वर्षको सश्रम कारावासको सजाय सुनाइएको हो । जसमा भारतीय व्यापारी राघवेन्द्र प्रताप पनि रहेका छन् । उनी भ्रष्टाचार, जालसाजी र किर्तेमा दोषी ठहर भएका हुन् ।
वास्तवमा उजवेकिस्तानमा २०२२ र २०२३ को बीचमा कम्तिमा ८६ बालबालिकालाई विषालु खोकीको सिरप खुवाइएको थियो। जसका कारण ६८ बालबालिकाको मृत्यु हुन पुगेको बताइएको छ ।
मृतकका आफन्तको उजुरीको आधारमा उज्वेकिस्तान प्रहरीले मुद्दा दर्ता गरी अदालतमा आरोपपत्र दायर गरेको थियो । जसमा उज्वेकिस्तानमा डक–१ म्याक्स सिरप बेच्ने कम्पनीका निर्देशक राघवेन्द्र प्रतापलाई पनि अभियुक्त बनाइएको हो । उनीविरुद्ध लापरवाही, ठगीलगायतका गम्भीर धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
जनवरी २०२३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतको मेरियन बायोटेकले बनाएको दुईवटा कफ सिरप बालबालिकालाई दिन नहुने बताएको थियो । सिरपको नाम एम्ब्रोनोल सिरप र डक–१–म्याक्स हो । यी दुवै सिरप नोएडास्थित कम्पनी मेरियन बायोटेकले उत्पादन गरेको हो ।
अनुसन्धानमा दुवै सिरप गुणस्तरीय नभएको डब्ल्यूएचओले जनाएको छ । यसमा डायथिलिन ग्लाइकोल वा दूषित पदार्थको रूपमा इथिलीन ग्लाइकोलको सही मात्रा नभएको खुलेको थियो ।




