काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उम्मेदवारी नदिने निर्णय गरेको छ ।
समूहका नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आइतबार भएको अनौपचारिक छलफलले गठबन्धनबाट पार्टीले १० सिट लिएपछि आफूहरूले चार सिट पाउनैपर्ने निष्कर्ष निकालेको हो ।
सम्मानजनक ‘भाग’ नपाए निर्णय प्रक्रियामा सहभागी नहुने संस्थापनइतर समूहकाे निष्कर्ष छ ।
आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार (भोलि) उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा आफ्नो पक्षलाई चार सिट दिन सभापति नमानेपछि शेखर–गगन समूहको छुट्टै भेला बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालय जारी छ । भेलामा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीवन परियारलगायत सहभागी छन् ।




