देश

बरहथवा घटनामा वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान खोज्न आयाेगकाे आग्रह

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशंकर साहको मृत्यु भएकाे घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । उक्त घटनाको आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले अनुगमन गरिरहेको उसकाे भनाइ छ ।

सर्लाही जिल्लाको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको विवाद तथा प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट ३० वर्षीय जयशंकर शाहको मृत्यु भएको, केही प्रहरी तथा सर्वसाधारण घाइते भएका, मृतकका परिवार तथा सर्वसाधारणबाट न्यायको माग गर्दै प्रदर्शन गर्ने क्रम जारी रहेको, शान्ति सुरक्षाको स्थितिलाई खलबलिन नदिन भनी स्थानीय प्रशासनले बरहथवा क्षेत्रमा पटकपटक कफ्र्यू आदेश जारी गरेको र मृतकको शव अझै पनि सडकमै रहेको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको आयाेगले जनाएकाे छ । घटनाको अनुगमनका लागि आयोगको टोली घटनास्थलमै रहेको छ ।

उक्त घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानूनी कारवाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न, भविष्यमा यसप्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न र संयमता अपनाई शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन आयोग नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्दछ ।

साथै, वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान खोज्न आयोग प्रदर्शनरत पक्षलाई समेत आयाेगले अनुरोध गरेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *