विश्व

हमासमाथिको बर्बरता रोक्न गुटरेसको आह्वान

काठमाडाैं । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसले गाजामाथिको बर्बरता रोक्न माग गरेका छन् । उनले इजरायलले जारी राखेको आक्रमणले ठूलो संख्यामा निर्दोश मानिसहरु मरिरहेको भन्दै गाजालाई बर्बरता र भयावह विध्वंशबाट बाहिर निकाल्न आह्वान गरे ।

न्यूयोर्कमा पत्रकार सम्मेलन गरी गुटेरेसले तत्काल कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे । राष्ट्र संघीय एजेन्सीहरुले गाजामा बसोबास गर्ने २७ लाख मानिसलाई मानवीय सहायता पुर्‍याउन १ दशमलब २ अर्ब अमेरिकी डलर सहयोगको अपिल समेत गरेका छन् ।

गुटेरेसले सात अक्टोबरमा हमासले घृणित आक्रमण गरेको दोहोर्‍याउँदै यसको बदलामा निर्दोषहरुका ज्यान लिन नपाइने बताए । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजापट्टीको सुरक्षाको जिम्मेवारी आफूहरुले लिने बताए । एक अमेरिकी टेलिभिजनसँगको कुराकानीमा उनले हमासविरुद्धको कारबाही सम्पन्न गरेपछि त्यहाँको सुरक्षाको जिम्मा इजरायलले लिने बताए ।

उनले मानवीय सहयोगका लागि यसअघि पनि केही समय आक्रमण रोकेको भन्दै त्यसो गर्न आफूहरु अझै पनि तयार रहेको बताए । इजरायलले हमासलाई समाप्त नपारेसम्म युद्धविराम नगर्ने यसअघि बताउँदै आएको थियो । इजरायलको जारी आक्रमणमा गाजापट्टीमा १० हजार बढीको मृत्यु भइसकेको छ । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *