काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले टी-२० विश्वकप छनौटमा खेल्न तयार रहेको बताएका छन् । सोमबारदेखि शुरु हुने एशिया क्षेत्रको टी-२० विश्वकप छनौटअघि बोल्दै कप्तान पौडेलले नेपाल घरेलु मैदानमा खेल्न लागेकोले निकै उत्साहित रहेको बताएका छन् ।
रोहितले राष्ट्रिय टिममा सन्दीप लामिछानेको पुनरागमनले टिमलाई सन्तुलित बनाएको बताउदै खेल हुने दिनको अवस्था हेरेर प्लेइङ ११ छनौट गर्ने बताएका छन् । घरेलु कन्डिसनको फाइदा नेपाललाई हुने भन्दै आफुहरुले एक पटकमा एक खेलमा ध्यान दिएर खेल्ने बताए ।
कप्तान रोहितले मिडल अर्डरमा आफुसहित दिपेन्द्र सिंह ऐरी कुनै पनि पोजिसनमा खेल्न सहज रहेको भन्दै खेलको अवस्था हेरेर तलमाथि गरिरहेको स्पष्ट गरेका छन् ।
त्यसैगरी प्रशिक्षक मोन्टी देसाईले नेपाली टिममा सन्दीपको पुनरागमनले सकारात्मक माहोल बनेको बताए । उनले नेपाली टीमले विश्वकप छनौटको तयारी राम्रो गरेको प्रतिक्रिया दिएका छन् । नेपाली टिमले पछिल्लो एक बर्ष राम्रो क्रिकेट खेलेको बताउदै देसाईले टी-२० क्रिकेटका लागि चाहिने ‘टेम्प्रामेन्ट’ नेपाली खेलाडीमा रहेको बताएका छन् ।
एशिया क्षेत्रको टी-२० विश्वकप खेल्ने नेपाली टीममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), बिनोद भण्डारी (विकेट किपर), कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतिश जिसी, बिबेक यादव, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।




