विश्व

बिहारको मुजफ्फरपुरमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता

नयाँदिल्ली । भारतको बिहार राज्यको मुजफ्फरपुरस्थित वाग्मती नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् । अधिकारीका अनुसार अहिलेसम्म १५ देखि २० जनाको उद्धार गरिएको छ ।

मुजफ्फरपुरका विपद व्यवस्थापन अधिकृत अजय कुमारले पत्रकारहरूसँग घटनाबारे भने, ‘अहिलेसम्म १० जना बेपत्ता छन्, १५–२० जनाको उद्धार गरिएको छ । थप व्यक्तिको खोजी कार्य जारी छ ।’ उनले भने, ‘घटना आज बिहान १०ः३० देखि ११ः०० बजेको बीचमा भएको हो । राष्ट्रिय विपद् प्रतिकार्य बल र राज्य विपद् प्रतिकार्य बल को टोली घटनास्थलमा पुगी उद्धारका सम्भावित सबै पहलहरू गरेको थियो । अझै पनि वेपत्ताहरूको खोजी कार्य जारी छ ।’

बिहारका मुख्यमन्त्री नितिश कुमारले बाढी प्रभावित परिवारलाई सहयोग गरिने बताएका छन् । उनले पत्रकारहरूसँग भने, ‘मुजफ्फरपुरका जिल्ला प्रशासकहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । यस दुर्घटनामा परी घाइते भएकाहरूको परिवारलाई सरकारले सहयोग उपलब्ध गराउनेछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *