काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरी खेलेको छ । १-० ले पछि परेको नेपाललाई सावित्रा भण्डारीले हारबाट जोगाएकी हुन् ।
ढाकामा सम्पन्न भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु टोलीमाथि दबाब बनाएको नेपालले २४ औं मिनेटमा गोलको अवसर गुमाएको थियो । सावित्रा भण्डारीको हेडर बंगलादेशकी गोलकिपर रुक्मा चक्माले बचाएकी थिइन् ।
६५ औं मिनेटमा बंगलादेशले डेडलक तोड्यो । कप्तान सविना खातुनले सरु लिम्बुबाट खोसेको बललाई गोलमा परिणत गरेकी थिइन् । नेपाली डिफेन्डरले उनलाई रोक्न सकेनन् । १-० ले पछि परेको नेपाल हार नजिक पुगेको थियो । तर सावित्रा भन्डारीले ४ मिनेटको इन्जुरी समयमा बराबरी गोल गर्दै बचाइन् ।
नेपालले गत भदौपछि बंगलादेशसँग पहिलो पटक प्रतिस्पर्धा गरेको हो । बंगलादेशसँग नेपाल घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा ३-१ गोलले स्तब्ध भएको थियो ।
दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आगामी आइतबार हुनेछ । दुई मैत्रीपूर्ण खेललाई नेपालले एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ ।




