काठमाडौँ । बंगलादेशले अफगानिस्तानविरुद्धको टेस्ट खेलमा ५४६ रनको फराकिलो अन्तरले हराउँदै रन अन्तरको हिसाबले आफ्नो सबैभन्दा ठूलो टेस्ट जित हासिल गरेको छ ।
टेस्ट क्रिकेटको इतिहासमा रनको हिसाबले यो तेस्रो ठूलो जित हो । जितका लागि ६६२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको टोली खेलको चौथो दिनको दोस्रो इनिङ्समा ११५ रनमा अलआउट भएको थियो । फास्ट बलर तस्किन अहमदले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ३७ रन दिएर चार विकेट लिए । यो २१औं शताब्दीमा कुनै पनि टोलीको सबैभन्दा ठूलो जित पनि हो ।
बंगलादेशका लागि नजमुलले दुवै इनिङ्स (१४६ र १२४) मा शतक बनाएर बंगलादेशको जितको जग बसालेका थिए । उनी मोमिनुल हकपछि टेस्ट क्रिकेटको दुवै इनिङमा शतक बनाउने दोस्रो बंगलादेशी ब्याट्सम्यान बने । बंगलादेशको यसअघिको सबैभन्दा ठूलो जित सन् २००५ मा जिम्बावेविरुद्ध २२६ रनले जितेको थियो ।
सन् १९२८ मा अस्ट्रेलियालाई ६७५ रनले पराजित गर्ने इंग्ल्यान्डको नाममा टेस्टमा रनको हिसाबले सबैभन्दा ठूलो जितको कीर्तिमान छ । यसपछि सन् १९३४ मा द ओभलमा अस्ट्रेलियाले इङ्ल्यान्डमाथि ५६२ रनको जित हात पारेको थियो । अफगानिस्तानले २ विकेटको क्षतिमा ४५ रनमा खेल सुरु गरेको थियो ।
बंगलादेशले पहिलो इनिङ्समा ३८२ रन बनाएर अफगानिस्तानलाई १४६ रनमा अलआउट गरेको थियो । टोलीले चार विकेट गुमाएर ४२५ रन बनाएर दोस्रो इनिङ्स घोषणा गरेको थियो, जसले अफगानिस्तानलाई ६६२ रनको लक्ष्य दिएको थियो ।




