विश्व

‘अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छ’

हिरोसिमा । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वासिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताएका छन्।

गत नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिए ।

गत फेब्रुअरीमा वासिङ्टनले संयुक्त राज्य अमेरिकी आकाशमा उडिरहेको कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेर खसाल्ने निर्णय गरेपछि विश्वका दुई ठूला अर्थतन्त्रबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणलाई यस घटनाका कारण रद्द गरिएको थियो ।

जापानको हिरोसिमामा सम्पन्न जी–७ शिखर सम्मेलनपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बाइडेनलाई अमेरिका र चीनबीच प्रस्तावित हटलाइन किन सञ्चालनमा नआएको भनी सोधिएको थियो ।

“तपाईं सही हुनुहुन्छ, हामीसँग एक खुला हटलाइन हुनुपर्छ । बाली सम्मेलनमा राष्ट्रपति सी र मबीच कसरी भेट्ने र के गर्ने भन्नेबारे छलफल भएको थियो,” उनले पत्रकारहरूको प्रश्नमा सकारात्मक प्रतिक्रिया दिँदै भने।

एक अर्कासँग वार्ता गर्ने सन्दर्भमा सबै कुरा परिवर्तन भएको स्वीकार्दै उनले भने, “मलाई लाग्छ कि तपाईं देख्नुहुनेछ कि सम्बनधमा छिट्टै तरलता (सुधार) आउँछ ।

अमेरिकी बाइडेन प्रशासनले सैन्य प्रयोगको जोखिमको हवाला दिँदै उन्नत माइक्रोचिप्सको व्यापारलाई लक्षित गरेर चीनलाई पनि चिढ्याएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *