विश्व

इमरान खान पक्राउको विरोधमा पाकिस्तानमा हिंसात्मक प्रदर्शन, ८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएको विरोधमा देशभर फैलिएको हिंसात्मक प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । करीब एक हजार प्रदर्शनकारी गिरफ्तार भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले विरोध प्रदर्शनलाई आतंककारी गतिविधिको संज्ञा दिंदै भर्त्सना गरेका छन् । बुधबार राति देशबासीका नाममा सम्बोधन गर्दै शरीफले सार्वजनिक सम्पत्ति र सरकारी कार्यालयहरुमा थप आक्रमण गरिए कठोर कारबाही गरिने चेतावनी दिए ।

पूर्वप्रधानमन्त्री खान र उनको दल पीटीआईका कार्यकर्ताले संवेदनशील सैन्य ठेगानाहरुमा आक्रमण गरेको प्रधानमन्त्री शरीफको आरोप छ ।

खानका समर्थकले लाहौरस्थित प्रधानमन्त्री शरीफको निजी निवासका साथै एक उच्च सैन्य जनरलको निवासमासमेत आक्रमण तथा आगजनी गरेका छन् ।

मंगलबार र बुधबार देशका विभिन्न सहरमा गरिएको विरोध प्रदर्शनका क्रममा पञ्जाब प्रान्तमा मात्रै १४ वटा सरकारी भवन तथा प्रहरीका २१ वटा भ्यानमा आगजनी भएको छ । राजधानी इस्लामाबादका साथै पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तमा सेना परिचालन गरिएको छ ।

पूर्वप्रधानमन्त्री खानलाई अल कादिर ट्रष्ट सम्बन्धी जमिन भ्रष्टाचार मामिलामा मंगलबार त्यहाँको भ्रष्टाचार विरोधी निकाय-एनएबीले आफ्नो नियन्त्रणमा लिएको थियो । बुधबार अदालतले खानलाई आठ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।

सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री रहेका पूर्वक्रिकेटर खान यो मामिलामा दोषी ठहरिए सम्भवतः जीवनभर नै चुनाव लड्न नपाउने गरी प्रतिबन्धित हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *