काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार हिमालयन र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । आर्र्मीका लागि नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरी गराए ।
शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो ।
यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।




