खेलकुद

के पिएसजी छोड्दैछन् मेसी ?

काठमाडौँ । लियोनेल मेसी पिएसजी छोड्ने संकेत देखिएका छन् । जुनको अन्त्यसम्म पिएसजीमा सम्झौता रहेका मेसीको पिएसजीमा सम्झौता नवीकरणको छलफल निष्कर्षमा नपुगेपछि उनले क्लब छोड्ने मिडिया रिपोर्ट बाहिर आएका छन् ।

मिररले मेसीले फ्री-ट्रान्सफरमै पिएसजी छोड्ने दाबि गरेको छ । २०२१ मा बार्सिलोनाबाट बाध्यात्मक अवस्थामा बाहिरिएपछि मेसी पिएसजी आएका थिए । दुई सिजन पिएसजीमा बिताइरहदा मेसी अझै दुई बर्ष पिएसजीमै बस्न सक्ने अड्कल बाजी गरिएको थियो । तर पिएसजीले मेसीको सम्झौता नवीकरणको विषयमा ठोस छलफल नगरेपछि उनले क्लब छोड्ने बताइएको छ । पिएसजी अहिले आर्थिक रुपमा समस्यामा रहेको र खेलाडी भित्र्याए अनुसार सफलता हासिल गर्न नसकेको कारण मेसीको सम्झौता नवीकरण गर्ने विषयमा चासो नदेखाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पिएसजीले किलीयन एम्बाप्पे, नेइमार र मेसी जस्ता सुपरस्टार भित्र्याउदा पनि च्याम्पियन्स लिगमा सफलता पाउन नसकेपछि अब युवा र नयाँ खेलाडीलाई भित्र्याउने रणनिति बनाएको बुझिएको छ ।

पिएसजीमा सम्झौता नवीकरण नभइरहेको अहिलेको अवस्थामा बार्सिलोनाले मेसीलाई फेरी भित्र्याउने प्रयास भने गरिरहेको देखिएको छ । तर बार्सिलोना अहिले पनि आर्थिक रुपमा बलियो नभएकोले मेसीले बार्सिलोनाको प्रस्तावलाई कसरी लिन्छन् भन्नेमा सबैको ध्यानकेन्द्रित भएको छ । अहिले बार्सिलोनाले मेसीलाई यसअघिको भन्दा निकै कम पारिश्रमिक अफर गरेको मिडिया रिपोर्ट बाहिर आएका छन् । बार्सिलोनाले मेसीलाई थोरै पारिश्रमिक दिएर स्पोन्सर डिलमा निश्चित प्रतिशत दिने अफर गरेको छ ।

ला लिगाको फाइनान्सियल फेयर प्लेका कारण बार्सिलोनाले अहिले पनि गाभी जस्ता स्टार खेलाडीलाई सिनियर खेलाडीको रुपमा दर्ता गर्न असफल भएको छ । त्यसैले बार्सिलोनाले मेसीलाई भित्र्याउन राफिन्हा, अन्सु फाति र फेरान टोरेज जस्ता खेलाडीलाई बेच्न सक्ने बताइएको छ । त्यसैले बार्सिलोनामा मेसीको पुर्नामिलन बार्सिलोनाको आर्थिक अवस्थाले मात्र निर्धारण गर्ने देखिन्छ ।

मेसीका लागि बार्सिलोना बाहेक साउदी अरबबाट बम्पर अफर रहेको छ । साउदी प्रो लिगमा अल नासरले क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएपछि अल नासरको प्रतिद्वन्दी क्लब अल हिलालले मेसीलाई भित्र्याउन बार्षिक ४०० मिलियन युरो पारिश्रमिक दिने बम्पर अफर दिएको छ । यस अफरको बारेमा मेसीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

पिएसजीमा दुई सिजन खेलेका मेसीले अहिलेसम्म कुल ७० खेलमा ३१ गोल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *