खेलकुद

फिफा महिला विश्वकपको सयदिने काउन्टडाउन : ३२ राष्ट्र सहभागी, पुरस्कार राशि १५ करोड डलर

काठमाडौं । फिफा महिला विश्वकपको आजबाट सय दिन काउन्टडाउन सुरु भएको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना हुने विश्वकपको उद्घाटन जुलाइ २० मा हुनेछ ।

यो ३२ राष्ट्र सहभागी हुने पहिलो महिला विश्वकप हो । यसअघिका संस्करणमा २४ टिम बीच प्रतिस्पर्धा हुँदै आएको थियो । अकल्यान्डस्थित इडेन पार्कमा उद्घाटन समारोह हुनेछ । पहिलो खेलमा समूह एमा रहेको न्युजिल्यान्डले नर्वेको सामना गर्नेछ ।

सोही दिन सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा समूह बीमा रहेको घरेलु टोली र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अगस्त २० मा हुने फाइनल खेल पनि यहि स्टेडियमले सञ्चालन गर्नेछ । एक महिनासम्म हुने विश्वकपमा कुल ६४ खेल हुनेछन् । अस्ट्रेलियाका पाँच र न्युजिल्यान्डका चार गरी नौ सहरमा खेल आयोजना गरिनेछ ।

साबिक विजेता अमेरिका लगातार तेस्रो उपाधि जित्ने राष्ट्रको कीर्तिमान बनाउने लक्ष्यमा हुनेछ । अहिलेसम्म महिला तथा पुरुष दुवै विश्वकपमा कुनै पनि देशले लगातार तीन विश्वकप उपाधि जित्न सकेका छैनन् । फिफाले महिला विश्वकप उपाधि विजेताको पुरस्कार राशिमा पनि वृद्धि गरेको छ ।

महिला विश्वकपको पुरस्कार राशि एक सय ५० मिलियन डलर रहेको छ । जुन अघिल्लो संस्करणभन्दा तीन गुणा र २०१५ को भन्दा दश गुणाले बढी हो । यसका बाबजुत पुरुष र महिला विश्वकपबीचको पुरस्कार राशिमा भने ठूलो ग्याप छ । गत नोभेम्बर डिसेम्बरमा कतारमा भएको पुरुष विश्वकपको पुरस्कार राशि ४४० मिलियन राखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *