काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले विजयी शुरुवात गरेको छ । बुधबार दशरथ रंगशालामा सम्पन्न उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए ।
डिफेन्डर अनन्त तामाङको गोलमा नेपालले खेलको २९औं मिनेटमा लाओसविरुद्ध १-० गोलको अग्रता लिएको थियो । त्यस्तै पछि नेपालका लागि खेलको ५६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका थिए ।
चैत १७ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालसहित भुटान र लाओसले प्रतिष्पर्धा गरिरहेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने यस प्रतियोगितामा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् ।
अब अर्को खेल लाओसले मार्च २५ मा भुटानसँग खेल्ने तालिका रहेको छ भने नेपालले दोस्रो खेल मार्च २८ मा भुटानसँग खेल्ने छ ।
पुरस्कार राशी
यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् । त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ । उक्त प्रतियोगितको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ ।
त्यस्तै उक्त प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ पाँच सय र भिआईपीतर्फ रु एक हजार मूल्य तोकिएको छ ।
यस प्रतियोगिताको लागि एक करोड ७५ लाख ६६ हजार चार सय ८० खर्च लाग्ने एन्फाले जानकारी दिएको छ ।




