खेलकुद

पीएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले यूएईसामु २३५ रनको लक्ष्य पेस गरेको छ। टियू मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको हो।

पपुवा न्युगिनीका लागि कप्तान असद भालाले अर्धशतक बनाए । उनले ९२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ६५ रन बनाए । त्यस्तै, नोरमन भुनवा र रिले हेकुरेले उत्कृष्ट ब्याटिङ गरे । यी दुई ब्याटरले अन्तिम तीन ओभरमा ४७ रन बनाउँदै पपुवा न्युगिनीलाई उकासे।

भनुवा ४९ रनमा अविजित रहे । उनले ३१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। हेकुरेले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाएर आउट भए । त्यस्तै, किप्लिन डोरिगाले २४, चार्ल्स अमिनीले २२ र गौडी टोकाले १५ रन बनाए । बलिङतर्फ यूएईका हज्रात बिलाले चार विकेट लिए। रोहन मुस्ताफा र जवार फारिदले समान १-१ विकेट लिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *