काठमाडौँ । नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुनुपर्ने बताएको छ ।
नेपाल बारका तर्फबाट अध्यक्ष गोपाल कृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा आफ्नो कार्य क्षेत्राधिकार अन्तरगतका विषयहरूमा सरोकारवाला निकायले कार्य गर्ने भएकाले सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सृजना गर्ने काम गर्नु उचित नभएको बताएका छन् ।
‘शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने उद्देश्यले बिगतमा भएको विस्तृत शान्ति सम्झौता, नेपालको संविधान तथा गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको काम, कर्तव्य र क्षेत्राधिकार उल्लेख भई दुवै आयोगहरूले आफ्नो क्षेत्राधिकार अन्तर्गतका कार्यहरू गर्दै आइरहेको अवस्थामा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरुरी छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।




