खेलकुद

सुदूरपश्चिमका जुनियर विश्वकप कबड्डीमा पाँच खेलाडी

काठमाडौं । सुदूरपश्चिमको कबड्डी खेलको इतिहासमा दुई दशकपछि यहाँका पाँच कबड्डी खेलाडी दोस्रो जुनियर विश्वकप कबड्डी प्रतियोगितामा भाग लिदैछन् ।

सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले प्रतिनिधित्व गरेका थिए । आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमबाट पहिलो पटक एकसाथ पाँच खेलाडी राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् ।

कबड्डीका निर्वतमान मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले राष्ट्रिय टिममा आफ्नो जबर्जस्त उपस्थिति जनाउँदै इरानमा हुने विश्वकपमा यहाँका पाँच खेलाडी सहभागी हुने बताए । “दशमध्ये पाँच जना खेलाडी सुदूरपश्चिमबाट पर्नु सामान्य विषय होइन”, उनले भने , “खेलाडीको नियमित प्रशिक्षण, लगन र मेहनतले विश्वकपसम्म पुग्ने अवसर पाए ।”

मुलुकको प्रतिनिधित्व गर्दै जुनियर विश्वकप खेल्न जानेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रकाश गिरी, आकाश भट्ट, विजय दमाईका साथै कैलालीका रामु टमाटा र गणेश पार्की रहेका छन् । “जुनियर विश्वकपमा १८ मुलुक सहभागी हुनेछ”, भट्टले भने “विश्वकप जुनियरतर्फ पहिलोपटक सहभागी हाम्रो देशको प्रदर्शन राम्रो हुनेमा आशावादी छौँ ।”

त्यस्तै कबड्डी खेलाडी आकाश भट्टले विगतमा गरेको प्रशिक्षण र खेलेका प्रतियोगिताको अनुभवका आधारमा विश्वकपमा प्रदर्शन गर्ने बताए । “बन्द प्रशिक्षणमा पनि प्रशिक्षण राम्रो भएको छ”, उनले भने , “पहिलो सहभागिता भएकाले प्रदर्शनमा कमी हुन दिन्नौँ ।” विश्वकपमा सहभागी भीमदत्त नगरपालिकाका तीनै जना खेलाडी महेन्द्रनगरस्थित कबड्डी प्रशिक्षण केन्द्रमा दुई वर्षयता र कैलालीबाट छनोट भएका दुई खेलाडी भारतको मुम्बैमा प्रशिक्षणरत हुनुहन्थ्यो ।

“सुदूरपश्चिमबाट सात जना खेलाडी विश्वकपका लागि बन्द प्रशिक्षणमा थिए”, निवर्तमान मुख्य प्रशिक्षक भट्टले भने , “सातमध्ये पाँच जना खेलाडी छनोटमा परे ।” विसं २०३७ देखि ०३९ सम्म मुलुककै अब्बल सुदूरपश्चिमको कबड्डी टिमले अहिले पनि खेलाडी तयार गर्न र पदक दिलाउने काममा अग्रसर नै रहेको भट्टको भनाइ छ ।

सिनियरतर्फ कञ्चनपुरबाट लक्ष्मण अधिकारी, प्रेम थापा, डम्बर बडवाल र महिलातर्फ सरस्वती ऐर र लक्ष्मी ठगुन्नाले विश्वकप कबड्डी खेलिसकेको विगत छ । कञ्चनपुरमा कबड्डीको प्रशिक्षण सञ्चालनमा आएयता कबड्डी खेलप्रतिको आकर्षणसमेत बढेको छ । “कबर्डहलमा नियमति ४५÷५० जना प्रशिक्षणमा छन्”, भट्टले भने , “कबड्डीको विकासमा यहाँ सङ्घको पनि महत्वपूर्ण भूमिका छ ।”

त्यसैगरी सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप खेलेका यहाँका पूर्वराष्ट्रिय खेलाडी लक्ष्मण अधिकारीले आफू दोस्रो विश्वकपमा नेपालको टिममा उपकप्तान रहेको बताए । “कबड्डीको विकासमा र खेलाडीको भविष्य सुनिश्चिताका लागि राज्यको ध्यान पुगेन भने अन्तर्राष्ट्रियस्तरमा सहभागिता मात्रै हुने हुन्छ”, उनले भने , “राज्यको ध्यान नपुगेकै कारण विगतमा धेरै खेलाडी बाध्य भएर पलायन हुन पुग्यौँ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *