बुटवल । बुटवल उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले विजयी भएका छन् ।
यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर पनि हो । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेकै बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित भएका हुन् भने भट्टराईले २२ हजार ५९७ मत पाए ।
नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पाण्डेयको यो जितसँगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन भएको हो । यहाँ २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।




