समाचार

गोरखामा भत्कियो सत्तारुढ चार दलीय गठबन्धन, भागबण्डा मिलेन कुरा

गोरखा । गोरखामा सत्ता गठबन्धनका चार दलबीच चुनावी तालमेलको सम्भावना अन्त्य भएको छ । अन्तिम निष्कर्ष निकाल्ने गरी शनिबार बिहान आठ बजे बसेको गठबन्धन संयन्त्रको आठौं बैठकमा पनि भागबण्डाको विषयमा सहमति नजुट्दा अब चार दलीय संयन्त्रको बैठक नबस्ने गरी अन्त्य भएको संयन्त्रका संयोजक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

‘आठ पटक बैठक बस्दा पनि सबै दलका नेताले आ-आफ्नो अडान छाड्नु भएन । त्यसैले अब गठबन्धन संयन्त्रको संयुक्त बैठकको औचित्य पनि देखिएन’, कांग्रेसका सभापति न्यौपानले भने, ‘अब हार्दिकता पूर्वक एक्ला-एक्लै चुनावी मैदानमा जान पनि सकियो, सत्ता गठबन्धनभित्रैका दुई वा तीन दल मात्र मिलेर अघि बढ्न पनि सकिने भयो ।’ अनौपचारिक रुपले छलफल गर्न सकिने अवस्था भने नसकिएको उनले बताएका छन् ।

शनिबार बिहान बसेको अन्तिम बैठकसम्म नेपाली कांग्रेसले सात, माओवादीले पाँच, जनता समाजवादी पार्टीले दुई पालिका दाबी नछाडेको बैठकका अर्का सहभागी लेखबहादुर थापाले भने, ‘बैठक एकदम हार्दिकताका साथ भयो तर सहमति भएन’, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष थापाले भने, ‘नेपाली कांग्रेसले एक नगरपालिकासहित सात पालिका र ४५ वडाको दाबी कायम राख्यो । माओवादीले एक नगरपालिकासहित पाँच पालिका र ४५ वडा दाबी गरिरह्यो । जसपाले पनि एक नगरपालिकासहित दुई पालिका दाबी गर्‍यो ।’ अब आ-आफ्नो पार्टीबाट उम्मेद्वार छान्नतिर लाग्ने दुवै ठूला पार्टीले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *