कपिलवस्तु । बैसाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने कि बहिष्कार गर्ने भन्ने विषयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद भएको छ ।
आसन्न स्थानीय तहको चुनावलाई उपयोग गर्ने-नगर्नेबारे विप्लव नेकपाका नेताहरुबी मत विभाजन भएको छ । कपिलवस्तुमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव चन्दले चुनाव उपयोग गरेर जानु पर्ने राजनीतिक प्रतिवेदन पेस गरेपछि विवाद भएको हो ।
चन्दको प्रतिवेदनमाथि वरिष्ठ नेता हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोलाले फरक मत राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । चुनावलाई उपयोग गर्नु पार्टी संसदीय प्रणालीलाई यही अवस्थामा स्वीकार गर्नु रहेको भन्दै उनीहरूले जनसंघर्षमा जोड दिएका ती केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टीको केन्द्रीय सचिवालयका पाँच जनामध्ये नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सन्तोष बुढाले चुनावलाई उपयोग गरी जनपक्षीय काम गर्न सकिने तर्क गरेका छन् । मंगलबारसम्म ६८ केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि आ-आफ्नो धारणा राखे पनि करिब ३० जनाले चुनाव बहिष्कारको नीति लिनुपर्नेमा जोड दिएका छन् । ‘संसदीय भासमा गए पार्टी बिग्रिन्छ भन्ने नेताहरूको बहुमत छ,’ ती केन्द्रीय सदस्यले भने ।
चन्द नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता नभएकाले चुनावमा भाग लिने नीति पारित भए अन्य दलसँग तालमेल गरी अघि बढ्नु पर्नेछ । नेकपाले जनमत संग्रहमार्फत संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएको थियो । केपी शर्मा ओली सरकारसँग चन्दले शान्तिपूणर् राजनीतिमा फर्किने भन्दै तीन बुँदे सम्झौता गरेका थिए ।




