काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आउँदो निर्वाचनमा १३ सिटमा झारिदिने बताएका छन् । आज एमाले सम्पर्क समन्वय कमिटीद्धारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कांग्रेसलाई हामीले पाँच वर्षअघि २३ मा झारिसक्यौँ’ अध्यक्ष ओलीले भने, ‘अब १३ सिटमा झारिदिनुपर्छ ।’ सत्ता गठबन्धनलाई यो केही पनि होइन भन्दै उनले भने, ‘पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?, अब १३ सिटमा झार्नुपर्छ, ।’त्यसका लागि निरन्तररुपले लाग्न अध्यक्ष ओलीले आफ्ना कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । उनले कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने उल्लेख गर्दै युवाहरूले त झन भोट हाल्नुपर्ने कारण नै नभएको जिकिरसमेत गरे ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीको पार्टी नै नबनेको भन्दै यही चुनावबाट समाप्त हुने टिप्पणी गरे । त्यस्तै उनले गठबन्धनको अर्को दल माओवादी केन्द्रलाई यसअघिको चुनावमा एमालेले नै बचाइदिएको ठोकुवासमेत गरे ।




