काठमाडौं । युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीस्थित नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार एकसय ९३ जना नेपाली सम्पर्कमा आएको र उनिहरु सुरक्षित रहेका छन् ।
युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासले अनुमान गरेको छ । रुसले युक्रेनको पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपालीहरु स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका छन् ।
युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले सुझाएको छ । सीमा नाकामा प्रवेश गर्नका लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ ।
दूतावासले युक्रेन सरकार, सम्बन्धित कलेज रविश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायतका कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।
युक्रेनमा रहेका नेपालीहरुको उद्धार गर्न सरकारी तयारी अझै पनि देखिंदैन । भारतले युक्रेनबाट आफ्ना नागरिक उद्धारको तयारी गरी उनीहरुलाई जम्मा गरिरहेको छ । तर नेपालले अहिलेसम्म कुनै पनि ठोस निर्णय गर्न सकेको छैन ।
परराष्ट्र मन्त्रालयले रुस र जर्मनीमा रहेका दूतावाससँग निरन्तर समन्वय गर्दै सम्भावित उपायको खोजी गरिरहेको जनाएको छ ।





