राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न प्रचण्ड-माधव बालुवाटारमा

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का कारण राजनीतिमा तरंग उठिरहेका बेला प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका छन् ।

उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

तीनै दलका शीर्ष नेताहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्मा लैजाने विषयमा छलफल भइरहेको छ । सत्तारुढ गठबन्धनका कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौताको पक्षमा छन् ।

त्यस्तै, सत्तारुढ गठबन्धनकै माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा उभिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सत्तारुढ गठबन्धनले एमसीसीबारे पहिला धारणा बनाउनुपर्ने पक्षमा रहेको छ । त्यसपछि मात्र एमालेले आफ्नो निर्णय बनाउने बताउँदै आएको छ ।

यसलाई संसद्मा पेस गर्ने विषयमा विवाद चलिरहेको छ । कांग्रेस, एमाले र जसपाका नेताहरु संसद्बाटै टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा भने संसद्मा पेस गर्न नहुने अडानमा छन् । यस विषयमा सहमति गर्न प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल छलफलमा जुटेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *