काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्याजेनज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाएको छ ।
बिहीबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा एमसीसीको विषयमा सभामुखले असहयोग गरेको विषयमा छलफल भएको स्रोतले बताएको छ ।
कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले समेत एमसीसीबारेमा अनावश्यक भ्रम सिर्जना गरिएको र त्यसलाई संसदमा स्पष्ट पार्न ढिला भएको बताएका थिए । ‘सरकारले जस्तै सभामुखले पनि यसमा सक्रियतासाथ पहल गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । बैठकपछि सञ्चाकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।
सरकारले पेस गरेको प्रस्तावलाई छलफलमा लिनुपर्ने सभामुखको जिम्मेवारीबाट सापकोटा पछि हटेका हुन् कि भन्ने आभास मिल्न थालेको कांग्रेस कार्यसम्पादन समितिको निष्कर्ष रहेको स्रोतले बताएको छ ।
एमसीसीका बारेमा बाहिर भ्रम फैलाउने काम भइरहेको समेत कांग्रेस कार्यसम्पादन समितिको निष्कर्ष रहेको छ ।




