काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको जुम्ला कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
मंगलबार ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रमबाट विप्लव नेतृत्वको नेकपाको जुम्ला इञ्चार्ज तिरुवासहित जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्रमा प्रवेशका हुन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका जुम्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा लगायत जिल्ला सेक्रेटरी, सह–सेक्रेटरी लगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६९ सालमा पार्टीका वरिष्ठ नेता मोहन वैद्यसहितको समूहले प्रचण्ड नेतृत्वको माओवादीबाट बाहिरिएका थिए । वैद्य नेतृत्वको पार्टी पनि फुटेपछि चन्दले नेकपा गठन गरेका थिए । विप्लव निकट मानिने नेता तिरुवा पनि सोही पार्टीमा गएका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उनले बताए ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन् । हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ,’ प्रचण्डले भने ।





