काठमाडौं । आगामी माघ १२ गते तय गरिएको राष्ट्रियसभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने कार्यसूची रहेको छ ।
मंगलबार उम्मेदवारी मनोनयन दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आजदेखि शुक्रबारसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको हो ।
२४ गते उम्मेदवारको नाम फिर्ता लिने समय तोकेको आयोगले २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयेगले जनाएको छ ।
राष्ट्रिय सभामा गोलाप्रथामार्फत चारवर्षे कार्यकाल तय भएको २० सांसद आगामी २० फागुनमा बिदा हुँदैछन् । रिक्त रहेका १९ जनाका लागि निर्वाचन हुन लागेको हो । एक जना भने राष्ट्रपतिका तर्फबाट मनोनीत हुनेछन् ।
प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।
कुल १९ सिटका हुने निर्वाचनमा एमालेले सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ भने सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएका छन् ।
गठबन्धनबाट कांग्रेसले ६ सिट तथा माओवादी र एकीकृत समाजवादीले ५÷५ सिट पाएका छन् । जसपाको भागमा २ तथा राजमोको भागमा एक सिट गरी गठबन्धनले तालमेल गरेका छन् । यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १ र नेपाल मजदूर किसान पार्टीले दुई सिटमा उम्मेदवार उठाएको छ ।




