काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै पदमा पनि उम्मेदवारी दिएनन् ।
१३औं महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध सभापतिमा उम्मेदवार बनेका पौडेल र सिटौला यस महाधिवेशनमा कुनै पदमा पनि उम्मेदवार नबनेको देखिएको हो ।
काँग्रेसको नयाँ नेतृत्वको लागि शनिबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकामा पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएका छैनन् ।
पौडेलले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् भने सिटौलाले वर्तमान सभापति देउवालाई नै समर्थन गरेका छन् ।
पौडेलले शनिबार विज्ञप्ति जारी गरी १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने घोषणा गरेका थिए ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चार माध्यमसँग कुराकानी गर्दै सिटौलाले पनि आफू पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताए । सिटौलाले आफु पक्षबाट महामन्त्रीमा प्रदिप पौडेललाई देउवा पक्षबाट उम्मेदवार बनाएका छन् ।




