काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । एमालेले १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक आजबाट बस्दैछ ।
पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भोलि (आइतबार)सम्म चल्ने बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा बिहान ११ बजे सुरु हुँदैछ ।
बैठकको कार्यसूचीमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरुको कार्यविभाजन लगायत रहेको उनले जानकारी दिए ।
कार्यालय सचिव तामाङले बैठकमा विभिन्न १५ अजेण्डा तय गरिएको जानकारी दिए ।





