समाचार

भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमण गर्ने

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने भएका छन् । कोप सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आशय व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी भएको र उनले नेपाल आउन उत्सुक रहेको जानकारी दिएका छन् । उनले भने, “मैले भारतीय प्रधानमन्त्रीलाई तपाईँ नेपाल आउनुस् हामी स्वागत गर्छौँ भनेँ । नेपालका पशुपतिनाथ, मुक्तिनाथ घुम्न मैले आग्रह गरेँ, धार्मिक क्षेत्रहरुको भ्रमण पनि हुन्छ, आउनुस् भनेर मैले भनेको छु र उहाँले आफू नेपाल आउन तयार रहेको बताउनुभयो, मलाई पनि भारत भ्रमणमा आउनुस् भन्नुभएको छ ।”

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी)का उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा नेपाल एमसिसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङगो लगाउने भन्ने विषयमा कुराकानी भएको जानकारी पनि दिएका छन् । “उनले एमसिसी कहिले पास हुन्छ भन्नुभएको थियो, मैले भने गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पुर्याएर निष्कर्षमा पुग्छौँ भनेको छु । हामीले हस्ताक्षर गरेरै पठाएको भनेको छु यसमा प्रचण्डजीले पनि हस्ताक्षर गर्नुभएको छ, संसद् स्थगन भएको यही कारण होइन अन्य कारणले हो, कतिपय विषयलाई अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने भएकाले स्थगन भएको हो”, उनले भने ।

प्रधानमन्त्री देउवाको स्वागतका लागि विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण, रक्षामन्त्री डा मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीको स्वागतका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि विमानस्थल पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *