समाचार

माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ : ‘प्रचण्ड’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताए । माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताएका छन् ।

उनले भने, “तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ ।” माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनको भनाइ थियो । आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उनले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गरेका छन् । उनले भने, “म त हाम फालेकै छु हाम फालिराख्छु । तपाईहरु लाग्नुस् ।”

माओवादी सरकारमा हुँदा वा नहँुदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको दाबी उनले गरेका छन् । उनले आफू राजनीति र जनताको कामबाट नथाक्ने र कहिल्यै नभाग्ने बताए । उनले आफू चितवनबाट कतै नभाग्ने पनि बताएका छन् ।

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै भने, “प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस् ।” एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको उनको भनाई थियो । उनले भने, “मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि ।”

माओवादी केन्द्रका महानगर इञ्चार्ज रेनु दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केन्द्रमा प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *