काठमाडाैं ।सर्वोच्च अदालतमा आज सबै मुद्दामाथिको सुनुवाइ रोकिएको छ। तोकिएका कुनै पनि इजलास बस्न नसक्दा आज ‘शून्य सुनुवाइ’को दिन बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आफ्नो एकल इजलाससहित आठ इजलास तोकेका थिए। आजका लागि एक सय ६७ थान मुद्दाको पेसी तोकिएको थियो।
जबराले २८ मुद्दाको सुनुवाइ आफ्नो इजलासमा तोकेका थिए। प्रधानन्यायाधीशले आफ्नै इजलास तोकेसँगै सर्वोच्चमा शून्य सुनुवाइको अवस्था नरहने आकलन गरिएको थियो। सर्वोच्चका अनुसार आज प्रधानन्यायाधीशसहित कुनै पनि इजलास बसेन। कुनै पनि बेन्च बस्न नभ्याएका कारण आज कुनै पनि मुद्दाको सुनुवाइ नभएको सर्वोच्चले जनाएको छ।
यसअघि सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नबसेपछि सर्वोच्चमा कुनै पनि मुद्दामाथि सुनुवाइ भएको थिएन। बुधबार भने प्रधानन्यायाधीश जबराकाे एकल इजलासले पाँच मुद्दामाथि सुनुवाइ गरेको थियो।




