समाचार

खोटाङ जिल्लामा कोरोना सङ्क्रमित एक जना

खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एकजनामा भएको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्लामा अहिले घटेर एकजनामा झरेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष मात्र सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिएका छन् ।

निर्मलीडाँडाका सङ्क्रमित पुरुष अहिले होम आइसोलेशनमै उपचाररत रहेको जनाइएको । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेपछि दशवटै स्थानीय तहमा निर्माण गरिएको २३४ श्य्याको संस्थागत आइसोलेशन खाली बनेको स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले जानकारी दिएका छन् । विश्वभर फैलिएको कोरोना सङ्क्रमणबाट २० महिने बालिकासहित १५ जनाले ज्यान गुमाएको खोटाङमा अन्य सबै सङ्क्रमित विभिन्न ठाउँमा गरिएको उपचारपछि सङ्क्रमणमुक्त भएका हुन् ।

जिल्लामा कोरोना सङ्क्रमित नभएपछि स्थानीय तहमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या न्यून देखिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिएका छन् ।

कोरोना सङ्क्रमण दर घट्दै गएपछि विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीसँगै जिल्लाका सबै मठमन्दिर तथा हाटबजार खुला गरिएको छ । लामो समयसम्म बन्द गरिएको हलेसी मन्दिर खुला भएपछि भक्तजन तथा पर्यटकको चहलपल सुरु भएको छ ।

पूर्वी पहाडी जिल्लामा खोटाङमा ५२ हजार ५२५ जनाले पहिलो मात्रा र ४० हजार ९७९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । वि.सं २०६८ सालको जनगणना अनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लाका सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउनेगरी दशवटै स्थानीय तहमा खोप कार्यक्रम जारी राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *