वालिङ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधिक तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षामा जोड दिइएको बताए ।
स्याङ्जाको वालिङमा आज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र तालिम प्रतिष्ठान गण्डकी प्रदेशले आयोजना गरेको आधारभूत तथा मध्यमस्तरीय सीपमूलक जनशक्ति उत्पादनमा प्रदेश र स्थानीय तहको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उनले दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै सोहीअनुसारको नीति अवलम्बन गरेको बताए ।
“दक्ष, प्रविधि र सीपयुक्त जनशक्ति उत्पादनका लागि मन्त्रालयले नीति तथा योजना बनाएको छ”, मन्त्री श्रेष्ठले भने, “यसको कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग पनि आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढ्छौँ ।”
दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्न मन्त्रालयले गर्न सकिने उपायका बारेमा सरोकारवालासँग अन्तक्र्रिया गरेको हो । गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका नागरिकलाई त्यहाँको माटो सुहाउँदो र मागका आधारमा कार्यक्रम सञ्चालनका लागि परिपत्र गरिए पनि खासै चासो नदेखिएको मन्त्री श्रेष्ठको भनाइ थियो ।
“विद्यार्थीलाई जुन विषयमा चाहना छ, सोही विषयको शिक्षा दिइयो भने प्रभावकारी हुन्छ”, मन्त्री श्रेष्ठले भने, “दक्ष जनशक्तिको अभावमा अब रोकिनुपर्ने अवस्थाको अन्त्य गर्न हामी अगाडि बढिसकेका छौँ ।” फरक–फरक ठाउँ तथा पालिकामा फरक–फरक विषयका प्राविधिक शिक्षालय सञ्चालन गर्दा थप विशिष्टीकृत हुने उनको भनाइ थियो ।
वालिङका नगर प्रमुख दिलीपप्रताप खाँणले अबको शिक्षा विज्ञान र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छन् । अबको शिक्षा अन्तर्राष्ट्रिय समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने र अवसरको सिर्जना गर्ने खालको हुनुपर्ने बताए । नीति तथा योजना बनाउँदा वार्षिक लक्ष्य प्राप्तिका लागि मात्रै नभई आवश्यकतानुसारको हुनुपर्ने धारणा भिरकोटका नगरप्रमुख छायाराम खनालको थियो । प्राविधिक शिक्षाका विषयमा प्रदेश सरकारसँगै पालिकाले साझेदारीमा उपलब्धि देखिने गरी काम गर्न तयार रहेको नगरप्रमुख खनालले बताए ।




