काठमाडौं । गैरआवासीय नपाली संघ (एनआरएनए) को पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित भएको छ ।
संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो । तर प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटक सम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको बैठक बसी निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार बसेको बैठकले आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरि विश्व सम्मेलन स्थगित गरेको संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । परराष्ट्र मन्त्रालयलगायतसँग समन्वय गरी नयाँ मिति तय गरिने उनले बताए । आइतबार भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बैठक बसेको थियो ।
एनआरएनएमा कुल आचार्य र बद्री केसीका साथै रविना थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।




