काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताए । पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने बताए ।
उनले पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने बताउँदै भने,“कांग्रेसको वडा तहदेखि अधिवेशनको प्रक्रिया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक साङ्गठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको आजदेखि सुरु हुँदैछ ।”
महामन्त्री डा.कोइरालाले पार्टी, लोकतन्त्र र सिङ्गो राष्ट्रको बहुआयमिक भविष्य निर्माणका जगमा उभिएका पार्टीका क्रियाशील साथीहरुलाई सुझबुझपूर्ण निर्णय गर्न पनि आग्रह गरेका छन् ।




