समाचार

नेता बस्नेतद्वारा बाढीपीडित परिवारलाई नगद सहयोग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काङ्ग्रेस केन्द्रीय बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिका संयोजक एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बाढी पहिरोबाट जीवन गुमाएका परिवारलाई नगद रकम उपलब्ध गराएका छन् । चितवनका चेपाङ समुदाय र रौतहट तथा मकवानपुरका पीडित परिवारलाई नेता बस्नेतले नगद रकम उपलब्ध गराएका हुन् । चितवन जिल्लाको राप्ति नगरपालिका–१२ का मोतिलाल चेपाङ र कालिका नगरपालिका–११ का ज्ञानबहादुर चेपाङको परिवारलाई जनही २५ हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेको थियो ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको विशेष सहयोग र नेपाली काङ्ग्रेस र यसका भातृ शुभेच्छुक संस्थालगायतका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

यसैगरी नेता बस्नेतले रौतहट र मकवानपुरका बाढीपहिरो पीडितलाई नगद हस्तान्तरण गरे । रौतहटका ३ र मकवानपुरको १ पीडित परिवारको घरमै पुगी नेता बस्नेतले २५ हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

रौतहट जिल्लाका पार्टी सभापति कृष्ण यादवको सभापतित्वमा विभिन्न नगरपालिका र पालिकाका प्रमुखहरु तथा प्रत्यासीहरु, क्षेत्रीय सभापतिहरु, सांसद तथा सांसदका प्रत्यासीहरु सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नेपाली काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभाग विज्ञ सदस्य रामकुमार थापा, लोकतान्त्रिक खेलकुद संघका महासचिव सुवोद प्रधान, केन्द्रीय सदस्य देव कोइराला, बचन कार्की, क्रिकेट एसोसिएसन नेपालका कोषाध्यक्ष अनिल अधिकारीलगायत नेपाली काङ्ग्रेस भातृ र शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुको कार्यक्रममा सहभागिता थियो ।

उक्त सहयोग वितरण कार्यमा सहयोगी भूमिका खेल्ने सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिका लगायत सम्पूर्णलाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका अध्यक्षसमेत रहेका नेता बस्नेतले धन्यवाद दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *