समाचार

बालुवा सङ्कलनको अनुमति पाएपछि मजदुर खुशी

सिन्धुपाल्चोक । सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन् । उक्त माग राख्दै वडाध्यक्ष, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र मजदुरको संयुक्त टोलीले बिहीबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा सावेल प्रयोग गरेर मजदुरले नदीजन्य पदार्थ उत्खनन गर्न पाउनुपर्ने र वडा नं १३ बाट उठेको करको २५ प्रतिशत रकम सोही वडाको विकास निर्माणमा खर्च गर्नुपर्ने माग रहेको आन्दोलनका अगुवा शिवराम दङ्गालले बताए ।

एस्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न दिइएको तर मजदुरले सावेल प्रयोग गरेर बालुवा झिक्दा नगरपालिकाबाट अवरोध गरिनु तर्कसङ्गत नरहेको भन्दै मजदुरहरुले नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अमृतकुमार धितालसमक्ष ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै धितालले मेसिन चलाउन रोक लगाइएको तर सावेल चलाएर बालुवा सङ्कलन गर्न सकिने जानकारी दिएको दङ्गालको भनाइ छ ।

उनले बाँकी केही निर्णय कार्यपालिका बैठकबाट गर्ने भनेर तत्कालका लागि प्राविधिकको सिफारिसमा वडाभित्र कुनै पनि मेसिन चलाउन नपाइने र सावेल प्रयोग गरेर बालुवा झिक्न दिने मौखिक जानकारी दिइएको बताए । नगरपालिकाले सावेल प्रयोग गरेर बालुवा सङ्कलन गर्न दिने निर्णय गरेपछि यही पेशाबाट रोजीरोटी चलाउँदै आएका आदिवासी माझी तथा दनुवार समुदायका मजदुरहरुले खुशी व्यक्त गरेको राससले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *