काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा बंगलादेश प्रस्थान गरेकी छन् ।
बंगलादेशका राष्ट्रपति महम्मद अब्दुल हमिदको दुई दिने मैत्रीपूर्ण निमन्त्रणामा उनी सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
नेपाल एअरलाइन्सको चार्टर्ड विमानबाट बंगलादेशको राजधानी ढाका प्रस्थान गरेकी राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाइ गरे ।
बिदाइ समारोहमा मन्त्रीहरु, संवैधानिक नियोगका प्रमुखहरु तथा उच्च पदस्थ अधिकारीहरु उपस्थित थिए ।
बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसरमा नेपालका राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिएको हो । राष्ट्रपति भण्डारीको आजै बंगलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




